काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्यटन विभागका पूर्वनिर्देशक सचिन्द्रकुमार यादवविरूद्ध ९६ लाख ८५ हजार ५५३ रूपैयाँ बराबरको बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले बिहीबार विशेष अदालतमा यादवविरुद्ध आफ्नो कार्यकालमा ९६ लाख ८५ हजार ५५३ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो।
२०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको कार्यकालमा यादवले ३ करोड ६५ लाख ४ हजार ४५३ रूपैयाँको खर्च कारोबार गरेको देखिएको र त्यसमा २ करोड ६८ लाख १८ हजार ९ सय रूपैयाँको मात्र स्रोत खुलेको दावी अख्तियारले गरेको छ । बाँकी ९६ लाख ८५ हजार ५५३ रूपैयाँको स्रोत यादवले खुलाउन सकेका छैनन् ।
उनले बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको समेत पुष्टि अख्तियारले दावी गरेको छ ।
त्यसैले सार्वजनिक पदको दुरूपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएकाले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आशा कुमारी यादवलाई प्रतिवादी कायम गरी मुद्धा दर्ता भएको अख्तियारले जनाएको छ ।