काठमाडौं । पशुपति आर्यघाटमा जल्दै गरेको शवको अंग खरिद गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको लालबन्दी स्थायी घर भएका कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दले बताए ।
गत शुक्रबार काभ्रेपलान्चोकको बनेपा नगरपालिका ९ का राम शाहीको शव जलाउने क्रममा आफन्तले अस्तु निकाली दिन भनेका तर घाटे ब्राह्मण गणेश ढकालले अस्तु दिनुपहिले नै त्यसरी हड्डी निकालेर अरुलाई दिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
सो खबरपछि प्रहरीले घाटे ढकाल र ती हड्डी लगेर दिने सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
उनीहरूले प्रहरीको सोधपुछ क्रममा जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी ४ सय रुपैयाँको लोभमा बेचेको स्वीकार गरेका थिए । तर, ४ सय दिएर अंग माग गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको उनीहरूले प्रहरीलाई बताएका थिए ।
ढकाल २०५५ सालदेखि पशुपति आर्यघाटमा काम गर्दै आएका छन् । सुरुमा एउटा शव जलाएको चार सय रुपैयाँ लिने गरेकोमा अहिले १५ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ ।