काठमाडौँ । गत वैशाखदेखि साउन मसान्तसम्म देशभर भएका दुई हजार ८५३ वटा विपद्का घटनामा परेर एक सय २६ जनाको निधन भएको छ ।
यस अवधिमा विपद्का घटनामा पाँच सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।
त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक-एकवटा विपद्का घटना घटेका छन् ।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ ।
अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ । रासस