रौतहट । गौर हत्याकाण्डमाथि छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशको स्वागतमा सोमबार रातिदेखि मधेसका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारमामाथि सर्वोच्चले सोमबार छानबिन अघि बढाउन आदेश दिएपछि पीडित पक्ष र स्थानीय स्तरमा खुसीयालीको माहोल बनेको हो । मृतकमध्ये सरमुजवा निवासी नर्मदेश्वर उपाध्यायको गाउँमा स्थानीयहरूले दीप प्रज्वलनसँगै रंगोली बनाएर खुसी साटेका छन् ।
स्थानीयहरूको भनाइमा १९ वर्षदेखि न्यायको प्रतीक्षा गरिरहेका पीडित परिवार र आफन्तलाई सर्वोच्चको आदेशले न्यायको ढोका खोलेको छ । पीडित परिवारले यसलाई ऐतिहासिक कदमको रूपमा स्वागत गरेका छन् ।
गौर नरसंहारमा श्रीमान गुमाएकी रूपसागर देवी उपाध्यायले दीप प्रज्वलन कार्यक्रमलाई न्याय प्राप्तिको आशा पलाएको दिनको उत्सवका रूपमा लिएको बताइन् ।
“हामीले धेरै सङ्घर्ष गर्यौँ, आन्दोलन गर्यौँ, सर्वोच्चले छानबिन गर्न आदेश दिएपछि बल्ल न्याय पाउने विश्वास पलाएको छ,” उनले भनिन् । सर्वोच्चको आदेशपछि अब जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन अघि बढाउनुपर्नेछ ।
तर सर्वोच्च अदालतले आदेश दिएपछि जसपा नेपालका कार्यकर्ताहरूले विरोध गरेका छन् । सोमबार साँझ उनीहरुले सडकमा प्रदर्शन समेत गरेका छन्