काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको घटनाबारे अनुगमन थालेको छ ।
ललितपुरको बालकुमारी सडक क्षेत्रमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिएका युवाहरूले गरेको आन्दोलनको क्रममा घाइते भएका दुईजना युवाको उपचारको क्रममा मृत्यु भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
"ईपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ," आयोगले भनेको छ ।
प्रदर्शनकै क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको, आगजनी गरिएको गाडीमा सवार सबैजना सकुशल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजात जलेर पूर्णरूपमा नष्ट भएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुगमन गर्न आयोगको टोली घटनास्थलमा गएको छ ।