शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अरनिको राजमार्ग सञ्चालनमा


    हुलाक प्रेस

    • बिहीबार , भदौ ५ २०८२०६:२२
    अरनिको राजमार्ग सञ्चालनमा

    काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । 

    सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए । 

    “पहिरोका कारण माथिल्लो भागमा रहेको मानव बस्ती जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो”, उनले भने, “पहाडी धरातल र लेदो बगी रहने गरेका कारण सो स्थानमा समयसमयमा समस्या आउने गरेको छ ।”

    ग्याविन पर्खाललगायतका अन्य संरचनाको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन जारी राखेको सडक विभागले जनाएको छ ।  

    पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र आज अपराह्नदेखि ठूला सवारीसाधनसमेत सञ्चालन हुन थालेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानले जानकारी दिए । 

    यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए । दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।
    रासस


  • सम्बन्धित विषय:

  • # #aranikohighway
  • प्रतिक्रिया दिनुहोस