शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जयशंकरको जवाफ– हामीसँग तेल किन्न समस्या भए नकिन्नुहोस्


    हुलाक प्रेस

    • शनिबार, भदौ ७ २०८२११:४९
    जयशंकरको जवाफ– हामीसँग तेल किन्न समस्या भए नकिन्नुहोस्

    काठमाडौं । रुसबाट तेल खरिद गरेको विषयमा अमेरिकी प्रशासनले भारतमाथि लगाउँदै आएको आरोपको सिलसिला जारी छ । अमेरिकाले भारतले रुसबाट तेल किनेर नाफा कमाइरहेको आरोप लगाएको छ ।

    यसको जवाफस्वरूप भारतीय विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल वा प्रशोधित उत्पादन किन्न समस्या भए नकिन्न आग्रह गरेका छन् । उनले इकोनोमिक टाइम्स वर्ल्ड लिडर्स फोरम २०२५ कार्यक्रममा भने, “यदि, तपाईंहरूलाई भारतबाट तेल वा प्रशोधित उत्पादन किन्न कुनै समस्या छ भने नकिन्नुहोस् । यस निम्ति तपाईंलाई कसैले जबरजस्ती गरिरहेको छैन । तर, युरोप र अमेरिकाले किनिरहेका छन् । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने नकिन्नुहोस् ।”

    यसबारेमा सोधिएको प्रश्नको जवाफमा जयशंकरले भने, “व्यापारलाई समर्थन गर्ने अमेरिकी प्रशासनका निम्ति काम गर्नेहरू नै अरूलाई व्यापार गरेको भनेर आरोप लगाइरहनु यो हाँसोउठ्दो कुरा हो ।”

    रुसबाट तेल किनेको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसेन्टपछि ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले पनि भारतलाई निसाना बनाइसकेका छन् । 

    नभारोले यसअघि भनेका थिए, “भारत रुसी तेल प्रशोधन गर्ने लन्ड्रोम्याट (अवैध स्रोतलाई वैध बनाउने माध्यम) बनेको छ । यसबाट उसले आफैँ नाफा त कमाइरहेको छ नै, साथै परोक्ष रूपमा युक्रेन युद्धमा रुसलाई आर्थिक सहयोग पनि गरिरहेको छ ।”

    कार्यक्रममा जयशंकरले ‘अपरेसन सिन्दूर’बारे पनि भनाइ राखे । भारत–पाकिस्तान युद्धविराममा कुनै तेस्रो पक्षको मध्यस्थता नभएको उनले जिकिर गरे ।

    उनले उक्त समयमा फोनमा लगातार कुराकानी भइरहेको उल्लेख गरे । त्यस्ता हरेक फोनकलको जानकारी आफूले सामाजिक सञ्जल एक्स एकाउन्टमार्फत दिएको उनले सुनाए । माहोल तनावपूर्ण हुँदा देशहरूले एकार्कासँग सम्पर्क गर्नु स्वाभाविक भएको पनि उनले बताए ।

    जयशंकरले इरान र इजरायलबीच संघर्ष चलिरहेका बेला त्यहाँका नेताहरूलाई आफूले फोन गरेको जानकारी दिए ।

    हरेक देश अर्को मुलुकमा के भइरहेको छ भनेर जान्न चाहनु अन्तर्राष्ट्रिय सम्बन्धमा सामान्य भएको उनले बताए । युद्धविरामका निम्ति भारत र पाकिस्तानबीच सिधा वार्ता गरिएको उनको भनाइ थियो ।

    के हो अपरेसन सिन्दूर ?
    गएको अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको थियो । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

    त्यसपछि मे ६–७ को रात भारतीय सेनाले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरस्थित चरमपन्थी शिविरलाई निसाना बनाएको थियो । उक्त कार्यलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो । त्यसपछि दुई देशबीच सैन्य संघर्ष सुरु भएको थियो । मे १० मा युद्धविरामको घोषणासँगै त्यो रोकिएको थियो ।


    प्रतिक्रिया दिनुहोस