शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एमाले नेता महरलाई म्याद थप्न अदालतमा नलगि सिधै सरकारी वकिल कार्यालयबाट जमानीमा छाडियो


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२१०:१२
    एमाले नेता महरलाई म्याद थप्न अदालतमा नलगि सिधै सरकारी वकिल कार्यालयबाट जमानीमा छाडियो

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर बुधवार पक्राउ परे । सामाजिक सञ्जालमार्फत् चरित्रहत्या र गालीगलौच गरेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको एक घण्टामा उनी छुटे । 

    महरमाथि सोमबार पक्राउ पुर्जी जारी भएकोमा बुधबार पक्राउ गरियो । यसरी पक्राउ परेपछि प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्न अदालत लैजानु पर्नेमा सिधै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो । बुधबार पक्राउ परेका उनलाई फास्ट ट्याकमा सरकारी वकिलले बयान गरेर हाजिरी जमानीमा छाडियो । आरोपीलाई हिरासतमा राख्ने कुनै आधार नदेखिए अनुसन्धान अधिकारीको सिफारसमा हाजिर जमानीमा छाड्न सक्ने कानुनी प्रावधान छ । 

    प्रहरीको साइबर ब्यूरोले अरुका हकमा यसरी सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान लिएर हाजिरी जमानीमा छाडेको बिरलै छ । साइबर ब्यूरोले यस्तै आरोपमा पक्राउ परेकाहरूलाई पहिला जिल्ला अदालतमा लगेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने म्याद मागेर हिरासतमा राख्ने, अनुसन्धान गर्ने, अनुसन्धान नसकिए पुन म्याद थप गराएर आवश्यकता अनुसार हाजिर जमानी वा हिरासतमै राखेर अभियोग पत्रसँगै अदालतमा पेस गर्ने गर्दै आएको छ।

    अदालतको अनुमतिमा प्रहरीले संगठित अपराध बाहेकको आरोपमा २३ दिनसम्म र संगठित अपराधको आरोपमा तीन महिनासम्म अनुसन्धानका लागि हिरासतमा राख्न पाउने कानुनी प्रावधान रहेको छ।

    तर महरको घटनामा भने उनी र उनको श्रीमतीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेर बयान लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाउनतिर भन्दा पहिल्यै प्रहरी उनलाई सरकारी वकिलको कार्यालयमा बयान गराएर हाजिर जमानीमा मुक्त गर्न केन्द्रित भएको देखिएको छ ।

    बुधवार महरसँगै उनको श्रीमतीलाई समेत प्रहरीले एकै आरोपमा नियन्त्रणमा लिएको थियो । महरसँगै उनकी श्रीमती  सनुजा श्रेष्ठ पनि हाजिर जमानीमा रिहा भइन् । प्रारम्भमा प्रहरीले महरविरुद्ध जाहेरी नै लिएको थिएन । त्यसपछि पीडित भनिएकी महिलाले हुलाकमार्फत जाहेरी पठाएपछि दर्ता गरेर सोमबार मात्र अदालतबाट पक्राउ अनुमति लिएको थियो ।


    प्रतिक्रिया दिनुहोस