बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा विद्यालयमा गोलीकान्ड : सुटरसहित तीनको मृत्यु, १७ घाइते


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०८:४६
    अमेरिकामा विद्यालयमा गोलीकान्ड : सुटरसहित तीनको मृत्यु, १७ घाइते

    काठमाडौं । अमेरिकाको एक क्याथोलिक विद्यालयमा बुधबार भएको गोलीकान्डमा कम्तीमा दुई बालबालिकाको ज्यान गएको छ । यो घटना मिनेसोटाको मिनियापोलिसको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको हो । घटनामा १७ जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
     
    स्थानीय अधिकारीहरूले आक्रमणकारीलाई पनि मारिएको बताएका छन् । गोली प्रहारको घटना एनुनसिएसन क्याथोलिक चर्चमा भएको थियो, जुन विद्यालयसँग जोडिएको छ । पुलिसले बन्दुकधारी २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा पहिचान गरेको छ, जसको कुनै पूवअपराधिक इतिहास थिएन ।

    गोलीकान्डमा मृत्यु हुने बालबालिका आठ र दश वर्षका दुई बालबालिका भएको बताइएको छ । जसमा उनीहरू विद्यालय फर्किएको तेस्रो दिन मात्र भएको बताइएको छ ।

    “हाम्रा टोलीहरू संकटको समयमा प्रतिक्रिया दिन प्रशिक्षित छन् र प्रभावित बालबालिकाहरूको हेरचाहका लागि पूर्ण रूपमा तयार छन् । हाल, ६ बालबालिकालाई हेरचाहका लागि हाम्रो अस्पतालमा भर्ना गरिएको छ,” स्थानीय अस्पतालले गोलीकान्डबारे जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा बिरामी र उनीहरूका परिवारको गोपनीयताको सम्मान गर्दै थप जानकारी दिन असमर्थ छौँ ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उक्त गोलीकान्डबारे लेख्दै आफूलाई घटनाको पूर्ण जानकारी दिइएको बताएका छन् ।
     
    उनले एफबीआईका अधिकारीहरूले तुरुन्तै कारबाही गरेको र उनीहरू घटनास्थलमा उपस्थित रहेको उल्लेख गरेका छन् । 

    मिनियापोलिसका मेयर जेकब फ्रेले भने, “यो अकल्पनीय कार्यलाई शब्दमा वर्णन गर्न सकिँदैन । यिनीहरूलाई अरू कसैका बच्चा नभई आफ्नै बच्चाका रूपमा सम्झनुहोस् । धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् ।”

    मिनियापोलिसमा २४ घण्टाभित्र चौथो गोलीकाण्ड
    मिनियापोलिसमा २४ घण्टाभन्दा कम समयमा यो चौथो गोलीकान्ड हो । मंगलबार दिउँसोदेखि मिनियापोलिसमा तीन अन्य छुट्टाछुट्टै गोलीकाण्ड भएका छन् । 

    मंगलबार दिउँसो करिब १ : ३० बजे सहरको फिलिप्स क्षेत्रमा भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए ।

    मिनियापोलिसका प्रहरी प्रमुख ब्रायन ओहाराले स्थानीय सञ्चारमाध्यमलाई यो हिंसाको घटना बताएका थिए । 

    मंगलबार दिउँसोसम्म यो घटनामा कसैलाई पनि पक्राउ गरिएको थिएन । त्यसपछि मंगलबार राति करिब ८ बजे सहरमा दोस्रो गोलीकान्ड भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको थियो । अर्का एकजना घाइते भएका थिए । 

    प्रहरीका अनुसार, बुधबार बिहान करिब २ बजे तेस्रो गोलीकान्ड भएको थियो, जसमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो । हालसम्म यी गोलीकान्डहरूबीच कुनै सम्बन्ध रहेको संकेत देखिएको छैन । बीबीसी


    प्रतिक्रिया दिनुहोस