काठमाडौँ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन् ।
निमित्तको भरमा सञ्चालित देशभरका दुई सय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन् ।
‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ । यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए । आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको जानकारी गराउँछु ।’
उनले मन्त्री बन्दै गर्दा आफूले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत घटाउने भनेर गरेको घाेषणा कार्यान्वयन गरिएको दाबी पनि गरेकी छन् ।
‘यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो,’ मन्त्री न्याैपानले भनेकी छन्, ‘जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन्छु ।’