शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १३ २०८२१२:०७
    पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा

    काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा भएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन् ।

    विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको । 

    यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन् ।

    स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।

    आज कोशी, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

    हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #Raining
  • प्रतिक्रिया दिनुहोस