बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुन्छ तर अन्तिममा सभापतिको कोटबाट नाम निस्किन्छ : महामन्त्री थापा


    हुलाक प्रेस

    • शनिबार, पुस १४ २०८००७:३२
    राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुन्छ तर अन्तिममा सभापतिको कोटबाट नाम निस्किन्छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा उम्मेदवारका लागि संसदीय बोर्डमा छलफल हुने भए पनि अन्तिममा सभापतिले कोटको खल्तिबाट नाम निकाल्ने बताएका छन्। 

    कांग्रेसको भक्तपुर- २ को क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले अहिले उम्मेदवारको नाम सभापतिको कोटको खल्तिभित्र भएको बताए।

    ‘१००० जना मान्छेको नाम लिएर पर्सि संसदीय बोर्डमा बस्नुपर्ने छ। सभापतिले पहिल्यै कोटको खल्तीमा नाम राखिराख्नुभएको छ। अहिले भित्र राखिराख्नुभएको छ। छलफल हुन्छ- हुन्छ। तर सभापतिले कोटको खल्तीबाट ढ्याक्क नाम राख्नुहुन्छ’, उनले भने।

    संसदीय बोर्डमा (गुटको) टाउको गनिने उनले बताए। ‘सभापतिले बोलेपछि धन्यवाद भने भइहाल्छ’, उनले भने, ‘अहिलेको सभापतिलाई मात्रै भनेको होइन। सुशील कोइराला हुँदा पनि त्यही हो। एक जना व्यक्तिको कुरा गरेको होइन। म भए पनि त्यही हो।’

    थापाले उम्मेदवार चयनका लागि कागजमा विधि बनाए पनि अन्तिममा सभापतिले कोटको खल्तीबाट नाम निकाल्ने गरेको बताए। थपे, ‘सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छाया सभापतिले निकाल्नुहुन्छ, अर्को कोटबाट, बाँकी। जो त्यसमा पर्‍यो, पर्‍यो। परेन, परेन। बाँकी रहेको कोही पनि परेन। अन्तिममा कोटबाट निस्किने हो।’

    उनले विधि नबदल्ने हो भने कांग्रेसमा संगठित भएका लाखौं मान्छेलाई आफूमाथि अन्याय भएको लागिराख्ने बताए। महासमितिको बैठक आउँदै गरेकाले उम्मेदवार चयनको विधिबारे त्यहाँ छलफल गरिनुपर्ने उनको भनाइ थियो।

    आफूहरूले राष्ट्रिय सभामा ९ जना उम्मेदवार बनाउनुपर्ने भएता पनि प्रत्येक प्रदेशले ३०० जनाको नाम पठाइदिएको उनको भनाइ छ। यसरी २१०० नामबाट काँटछाँट गरेर १००० जना बनाइने र उनीहरूको विषयमा संसदीय बोर्डमा छलफल हुने महामन्त्री थापाले बताए।


    प्रतिक्रिया दिनुहोस