काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा विहीबार प्रधानन्यायाधीश सहित सबै न्यायाधीश भेला भए । सग्लो रहेको भवनको एउटा हालमा फूल कोट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) राखेर आगामी सातादेखि केही सीमित मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरे ।
सर्वोच्च अदालको एनेक्स भवनमा रहेको हलमा भेला भएका न्यायाधीशहरुको फूल कोर्टले आगामी आईतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनहरु हेर्ने निर्णय गरेको हो ।
‘हामीसँग त अहिले केहीपनि छैन, एउटा सादा रजिष्ट्रारमा मुद्दा दर्ता गर्ने र जसोतसो सुनुवाइ अघि बढाउने कुरा भएको छ’ ती न्यायाधीशले भने, ‘जसोतसो एक/दुईवटा पाल जुटेको छ, त्यसमै इजलास सञ्चालन गर्ने तयारी हो ।’
सर्वोच्च अदालतले आफ्नो परिसरमा २/३ वटा पाल टाँगेर प्रशासनिक काम गर्ने र इजलास बनाउने तयारी गरेको छ । पुरानो भवनमा रहेको एकाध इजलासका संरचना प्रयोगमा आउनेछन् भने आगजनीबाट जोगिएका केही ठाँउमा जुगाड गरेर इजलास बनाउने तयारी गरेको छ ।
इजलास शुरु भएको ६ दिनपछि अड्डाअदालतहरुमा दशैंविदा शुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा विदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरु संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेवारे छलफल गरेका थिए ।