काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संसद् (प्रतिनिधि सभा) विघटन ‘स्वेच्छाचारी र असंवैधानिक’ भन्दै भर्त्सना गरेको छ ।
शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेपछि उनकै सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा भंग गराएका हुन् ।
उक्त कदम संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको ठहर बार एसोसिएसनले गरेको छ ।
बारका अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट मिति २०८२ साल भाद्र २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानुनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको निष्कर्षसहित यस कदमको कडा भर्त्सना गर्दछ । ’
यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रूपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघियता जस्ता उपलब्धिलाई खोस्नेतर्फ लक्षित रहेको दाबी बारले गरेको छ ।
‘नेपालको वर्तमान संविधान राष्ट्रिय सहमतिको बृहत् परिणाम हो र यसले यहाँका नागरिकहरूको आकांक्षालाई प्रतिबिम्बित गर्दछ । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यसअघिको संसद् पुनर्स्थापनासम्बन्धी निर्णय विपरीतसमेत छ’, बारले विज्ञप्तिमार्फत भनेको छ, ‘लोकतन्त्र, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको एक सचेत पहरेदारको रूपमा नेपाल बार एसोसिएसन यस कार्यको घोर भर्त्सना गर्दछ । यस्ता कार्यहरूले लोकतान्त्रिक संस्थाहरुमाथिको जनविश्वास घटाउँछ र हाम्रो संवैधानिक व्यवस्थाको जगलाई नै खतरामा पार्छ ।’
साथै बारले लोकतन्त्रको तत्काल पुनर्स्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाका लागि जोडदार माग गर्दै सरोकारवाला सबैलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान पनि गरेको छ ।
बारले अगाडि भनेको छ,‘नेपाल बार एसोसिएसन संविधानको संरक्षणका लागि आफ्नो प्रतिबद्धतामा अडिग छ। नेपाल बार एसोसिएसन कुनै पनि बहानामा यस्तो पश्चगामी कदमलाई अस्वीकार गर्दछ । यस परिवेशमा संविधानको अक्षरशः पालना गर्न गराउन र नेपाली जनताको बलिदानीपूर्ण इतिहासको रक्षाका लागि नेपाल बार एसोसिएसन कुनै पनि कदम चाल्नको लागि तयार भई यस कायमा सहकार्यको लागि आम जनसमुदायमा आह्वान समेत गर्दछ ।’