काठमाडौं । जेन–जीको नेतृत्वमा भएको आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा आइतबारबाट सर्वसाधारण र कर्मचारीको चहलपहल देखियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नयाँ निर्माण भएको गृह मन्त्रालयमा सारिएको छ भने आगजनीबाट क्षतिग्रस्त मन्त्रालयहरू भने सरसफाइ गर्न सुरु गरिएको छ ।
आंशिक क्षति भएका अर्थ, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, पर्यटन, भूमि व्यवस्था लगायतका मन्त्रालय खुलेका छन् । कर्मचारीहरू ठूलो संख्यामा उपस्थित भएर आ–आफ्नो मन्त्रालयमा भएको क्षतिको विवरण संकलन गरेका छन् भने सरसफाइ सुरु गरिएको छ । सबैभन्दा धेरै क्षति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नजलेका फर्निचरलगायतका सामान धमाधम अन्यत्र सारिएको छ ।
प्रधानमन्त्री कार्यालयको अगाडिको भाग तथा प्रधानमन्त्री बस्ने कोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको कोठामा आंशिक क्षति भएको छ । उक्त कोठाको फर्निचर अन्यत्र सारिएको छ। प्रधानमन्त्री कार्यालय नयाँ गृह मन्त्रालयमा व्यवस्थापन गरिएको छ भने ध्वस्त भएको गृह मन्त्रालयको कार्यकक्ष भने उद्योग मन्त्रालय नजिकैको पुरानो परराष्ट्र मन्त्रालयमा तयार गरिएको छ ।
सोमबारदेखि औपचारिक रूपमा उक्त स्थानबाट दैनिक काम सुरु गरिने जानकारी गृह सचिव गोकर्णमणि दुवाडीले दिए । सचिव दुवाडीका अनुसार दैनिक कार्यसञ्चालनका लागि सबै कर्मचारीलाई सम्भव व्यवस्थापन मिलाउन भनिएको छ । मन्त्रालयहरूमा बचेका कागजपत्र र फर्निचर सुरक्षित स्थानमा लगिएको छ ।
कतिपय मन्त्रालय आंशिक रूपमा क्षति भएको र कतिपयमा कुनै पनि क्षति नभएको देखिएको छ । तर सबैजसो मन्त्रालयको सवारीसाधनमा आगो लगाएर कामै नलाग्ने बनाइएको छ । कुनै–कुनै मन्त्रालयका गाडीको सिसा मात्र फुटाइएको छ भने अधिकांशलाई जलाइएको छ। सबैजसो मन्त्रालयको संघीय मन्त्रालयको ग्राउन्ड फ्लोर र पहिलो तलाबाहेकका कोठाहरूमा क्षति नपुगेका कारण कर्मचारीलाई केही सहज भएको छ ।
प्रधानमन्त्री कार्यालयसहितका कतिपय मन्त्रालयहरू लगभग ध्वस्त भएकाले सोही स्थानबाट सेवा प्रवाह गर्न सक्ने अवस्था छैन। सिंहदरबार परिसरमा जलेका सवारीसाधन छरपस्ट देखिन्छन् भने सेवाग्राहीभन्दा पनि उपस्थित कर्मचारीहरू अलमलमा देखिन्थे । परिसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृहमन्त्रालय सबैभन्दा बढी ध्वस्त भएका छन् ।
सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालय पनि ध्वस्त छ। सिंहदरबारको सबैभन्दा ठूलो समस्या जलेका सवारीसाधनलाई कसरी व्यवस्थापन गर्ने र सेवा प्रवाहको व्यवस्थापन कसरी मिलाउने भन्ने चुनौती देखिएको छ। अर्थ मन्त्रालयको बजेट महाशाखाको कागजपत्र सबै जलेर ध्वस्त भएको छ । मन्त्रालयको पछिल्लो मागमा राखेका गाडीहरूको सिसा फुटाइएको छ। अर्थको अगाडिका सबै गाडी जलेका छन्। कतिपय मन्त्रालयको भित्री भागमा क्षति नपुगे पनि गाडी जलेको धुवाँले भवनहरू कालो देखिएका छन्। क्षति नपुगेका मन्त्रालयहरूका सचिवहरूले कर्मचारीसहितको बैठक सञ्चालन पनि गरेका छन्।