शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • १० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी


    हुलाक प्रेस

    • मंगलबार, भदौ ३१ २०८२१०:५९
    १० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी

    काठमाडौँ । सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको छ । नयाँ सरकार बनेसँगै खर्च कटौती गर्ने र कर्मचारीको संख्या घटाउने निर्णय मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले गरेको छ ।  

    मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । 
     
    बैठकले अनलाइन सेवालाई विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने र अत्यावश्यकबाहेकका कर्मचारी कटौती गरेको एक सचिवले जानकारी दिए।

    निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस गरिने ती सचिवले बताए ।  

    कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ। सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय र खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ ।  

    एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ । सचिवहरूको बैठकले सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय पनि सचिवको बैठकले गरेको छ । 


    प्रतिक्रिया दिनुहोस