काठमाडौं । दुई दिनको जेनजी पुस्ताको आन्दोलनकोक्रममा सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न देखिएकाहरू पक्राउ पर्न थालेका छन् । प्रहरीले आन्दोलनको आवरणमा आपराधिक गतिविधिमा संलग्न देखिएकाहरूलाई पक्राउ गर्न थालेको हो ।
बाँके प्रहरीले सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष सालिकराम पाठक र दीपक टमाटालाई सरकारी कार्यालयमा तोडफोड र लुटपाट गरेको आरोपमा पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगन्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो । पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताए ।
जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरिसकेको छ ।
जेनजीको विरोध प्रदर्शनका क्रममा काठमाडौंको संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, मन्त्री निवास लगायत देशभरमा रहेका सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले लुटपाट र आगजनीमा संलग्नहरुबारे प्रमाण संकलन गरिरहेको छ ।
सर्वसाधारणसँग भएका प्रमाणहरु उपलब्ध गराउन प्रहरीले सार्वजनिक गरेको इमेलमा ५० हजार बढी मेल आइसकेको छ ।