काठमाडौं । माइतीघरस्थित दुई सरकारी वकिलहरूको कार्यालयबाट केही ठूला मुद्दाका फाइलहरू योजनाबद्ध रुपमा लुटिएको भेटिएको छ ।
नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयले गरेको प्रारम्भिक अध्ययन अनुसार, केही निश्चित मुद्दाका फाइलहरूलाई लक्षित गरी आगजनी र लुटपाट भएको भेटिएको हो । माइतीघर मण्डलको ठिक अघिल्तिर एउटै संरचनाभित्र दुई छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय छन् ।
विशेष सरकारी वकिलको कार्यालयबाट कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दाको फाइल गायब भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट स्वर्णलक्ष्मी सहकारी ठगी र तीनकुनेमा गत चैतमा भएको घटनासँग सम्बन्धित फाइल आगजनी भएको हो । तर जिल्ला सरकारी वकिल कार्यालयबाट भने अरु कागजात र फाइल पनि जलेको छ ।
‘हाम्रोमा अरु खासै क्षति छैन, तर कर फर्स्यौट आयोगको भ्रष्टाचारको फाइल भने योजनाबद्ध रुपमा हराएको छ,’ विशेष सरकारी वकिल कार्यालयसम्बद्ध स्रोतले भन्यो, ‘अरु फाइल केही नहुने तर त्यो मात्रै हराउनु निकै आश्चर्यको विषय भयो ।’
जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको फाइल गायब भएको छ । उक्त सहकारी ठगी मुद्दामा विभिन्न व्यक्ति सहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि समेत मुद्दा चलेको थियो ।
त्यो बाहेक गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको फाइल पनि हराएको छ । जुन घटनामा दुर्गा प्रसाई, धवलशम्सेर जबरा, रविन्द्र मिश्र लगायतविरुद्ध मुद्दा चलेको थियो ।
‘काठमाडौंमा त अरु कैयौं मुद्दाका फाइलहरू पनि जलेको छ,’ महान्यायाधिवक्ता कार्यालय सम्बद्ध स्रोत भन्छ, ‘तिनमा सहकारी र राज्यविरुद्धको कसुरको आरोपको मुद्दाको फाइल पनि छ ।’
महान्यायाधिवक्ता कार्यालयले केही वर्षअघि एउटै संरचनाभित्र आधा/आधा बाँडेर दुई सरकारी वकिलको कार्यालय बनाएको थियो । दाँयापट्टिको भागमा जिल्ला सरकारी वकिलको कार्यालय छ भने बाँयापट्टि विशेष सरकारी वकिलको कार्यालय छ । विशेष सरकारी वकिलको कार्यालयले भ्रष्टाचार लगायतका अरु मुद्दा हेर्छ ।
जेन जी आन्दोलनमा सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूमा आगजनी भएको थियो । सरकारी वकिलको कार्यालयबाट भने कागजात र कम्प्युटरका हार्डड्राइभहरू चोरिएका छन् ।
‘फाइल राखेका दराजमा क्षति भएको छैन, सँगैका अन्य फाइल पनि चलाएको छैन । तर, निश्चित व्यक्तिसँग सम्बन्धित फाइलहरू मात्रै निकालिएको छ,’ विशेष सरकारी वकिल कार्यालयसम्बद्ध स्रोतले भन्यो ।
विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्यौट आयोगका पदाधिकारीहरू सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले आधारभूत प्रक्रियाबिना नै उनीहरूको मुद्दा फैसला भएको भन्दै फेरि सुनुवाइ गर्नु भनी फाइल विशेष अदालतमै पठाएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भएको थियो । सुप्रिम सहकारीको मुद्दामा उच्च अदालतको बुटबल इजलासको आदेशले मात्रै उनी थुनामा परेका हुन् । तिनकुनेको हिंसात्मक घटनामा राजनीतिक पृष्ठभूमिका सबै आरोपितहरू धरौटीमा छुटेका छन् ।