काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल अझै कार्यालय फर्किएका छैनन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी परिचालन सही ढंगले गर्न नसकेको आरोप उनीमाथि छ ।
उनीमाथि प्रदर्शनमा उत्रिएका गोली चलाउन आदेश दिएको आरोप पनि उनले खेपे । उनकै कारण जेनजी प्रदर्शनकारीको ज्यान गएको भन्दै केही प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेर तोडफोड पनि गरे ।
त्यतिबेला उनी कार्यालयबाट निस्किसकेका थिए । पहिलो दिन (भदौ २३) मा नै उनीमाथि सुरक्षा खतरा बढेको अनुमानपछि जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट उनको तस्बिर हटाइयो । अहिलेसम्म (असोज ६ गते साँझ) पनि उनको तस्बिर वेबसाइटमा राखिएको छैन, नाम मात्रै उल्लेख छ । गृह मन्त्रालय स्रोतका अनुसार, अवस्था अझै सहज नबनेकोले उनी कार्यालयमा नफर्किएका हुन् ।
‘उहाँ सकुशल र सुरक्षित ठाउँमा हुनुहुन्छ तर बाहिरको वातावरण अझै शान्त नभएकोले कार्यालयमा नजानुभएको जानकारी पाएका छौँ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बाहिरको मास सेटल भइसकेको छैन । यति ठूलो घटना भइसकेपछि सायद अब सरूवा पनि हुन्छ होला ।’
गत भदौ ४ गते मात्र उनले काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए ।