काठमाडौं । उदारवादी, प्रगतिशील तथा वामपन्थी विचारमा आधारित अभियान चलाएका जोहरान ममदानीले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलेलाई राजनीतिक धक्का दिएका छन् ।
ममदानीको जित राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो र कडा हार मानिएको छ । ममदानीले पूर्वगभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई हराएर न्युयोर्क सहरको १११औँ मेयर बन्ने गौरव प्राप्त गरेका छन् ।
ममदानीले चुनाव सुरु हुनुभन्दा मुस्किलले एक वर्ष पहिले सीमित पहिचान, साधन र सामान्य रेकर्डका साथ चुनाव अभियान सुरु गरेका थिए । सुरुआती सर्वेक्षणहरूमा उनले कम मत पाएका थिए । तर, उनको सन्देशले अन्ततः विविधतामा विश्वास राख्ने र निराश मतदाताहरूलाई प्रभावित गर्यो ।
३४ वर्षीय ममदानी सहरको पहिलो मुस्लिम मेयर, पहिलो दक्षिण एसियाली मेयर र सन् १९७० को दशकमा अब्राहम बिमपछि यो पदमा आसीन हुने पहिलो आप्रवासी भएका छन् ।
युगान्डामा भारतीयमूलका माता–पिता, प्राध्यापक महमूद ममदानी र फिल्म निर्माता मीरा नायरको घरमा जन्मेका ममदानीको उदयले न्युयोर्कको विविधता र डेमोक्रेटिक पार्टीको आधारको बदलिँदो स्वरूप दुवैलाई दर्शाउँछ । यो दशकौँदेखि सहरको राजनीतिमा हाबी रहेका र प्रभावित गर्ने मध्यमार्गीहरूको पनि हार मानिएको छ । ममदानीले आफ्ना विचारहरू सुरुदेखि नै स्पष्ट राखे, जसमा इजरायलको नरसंहार नीति र प्यालेस्टाइनको विषयमा उनी मुखर भएर बोलेका थिए ।
न्युयोर्कमा जोहरान ममदानीको जितबाहेक, डेमोक्रेटहरूले भर्जिनिया र न्यू जर्सी जस्ता राज्यहरूमा पनि गभर्नर पदको दौड जितेका छन् । भर्जिनियामा डेमोक्रेट अबिगेल स्प्यानबर्गरले गभर्नरको चुनाव जितिन् । यो जितलाई राष्ट्रिय राजनीतिमा ट्रम्पको लोकप्रियतामाथिको जनमत संग्रहका रूपमा हेरिएको छ ।
विशेष गरी राष्ट्रपति ह्वाइट हाउस फर्किएपछिको यो पहिलो ठूलो चुनाव दिवस थियो । भर्जिनिया एउटा महत्त्वपूर्ण स्विङ स्टेट पनि हो । डेमोक्रेट पार्टीको तर्फबाट मिकी शेरिलले न्यू जर्सीको गभर्नर पदको चुनाव जिते । न्यू जर्सीमा पनि मतदाताहरूले डेमोक्रेटिक उमेदवारमाथि विश्वास देखाए । डेमोक्रेटहरूले स्विङ–स्टेट पेन्सिलभेनियामा राज्य सर्वोच्च अदालतका तीन महत्त्वपूर्ण सिट पनि जितेका छन् । साथै, कोलोराडो र मेन जस्ता राज्यहरूमा मतपत्र नापहरूमा जित हासिल गरेका छन् ।
न्यूयोर्क सहरको मेयरको चुनाव जितेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ममदानीले भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूका शब्दहरू उद्धृत गरेका थिए ।
भारतीयमूलका ममदानीको न्युयोर्क सहरको मेयर चुनाव जित्नु ट्रम्पका लागि धेरै कारणले एक जोडदार झड्का मानिएको छ । ममदानी एक प्रगतिशील डेमोक्रेट हुन् । उनको जितले पार्टीभित्र कम लागतमा आवास, भाडा नियन्त्रण, र श्रमजीवी वर्गका लागि नीतिहरू जस्ता वामपन्थी/प्रगतिशील एजेन्डाको बढ्दो शक्तिलाई देखाउँछ । ट्रम्पले ममदानीलाई कम्युनिस्ट भनेर लगातार आक्रमण गरिरहे र न्युयोर्कको संघीय कोष रोक्ने धम्की पनि दिए । तर, सिधा हस्तक्षेपका बाबजुद पनि आफ्नो मनपर्ने उमेदवार एन्ड्रयू कुमोलाई जिताउन सकेनन् ।
ट्रम्पले यस स्थानीय चुनावमा व्यक्तिगत रूपमा हस्तक्षेप गरे । उनले आफ्ना समर्थकहरूलाई ममदानीलाई भोट नदिन अपिल गरे यहाँसम्म कि रिपब्लिकन उमेदवार कर्टिस स्लिवाको सट्टा स्वतन्त्र एन्ड्रयू कुमोलाई समर्थन गरेका थिए । उनको सिधा चेतावनी र समर्थनका बाबजुद ममदानीको जितले ट्रम्पको राजनीतिक प्रभाव र शक्तिमाथि एउटा प्रश्न खडा गरेको छ ।
न्युयोर्क सिटी डेमोक्रेटिकहरूको गढ हो । ट्रम्पको पहिलो प्रिय घर पनि हो । उनी र नेतान्याहू विरोधी बयानबाजीका लागि चिनिने एक मुखर प्रगतिशील डेमोक्रेटको यो जित ट्रम्पका लागि व्यक्तिगत र प्रतीकात्मक झड्का मानिएको छ ।
ममदानीले अमेरिकाको राजनीतिलाई प्रभावित पार्लान् ?
ममदानीको जितले अमेरिकाको राजनीतिमा दूरगामी प्रभाव पार्न सक्ने बताइएको छ । यद्यपि, यो मेयरस्तरको जित हो । तैपनि प्रगतिशील लहरलाई ममदानीको जित डेमोक्रेटिक पार्टीको प्रगतिशील पक्षका लागि एउटा ठूलो नैतिक जित हो । यसले ‘द स्क्वाड’ जस्ता वामपन्थी डेमोक्रेटहरूलाई राष्ट्रियस्तरमा स्वास्थ्य सेवा, जलवायु परिवर्तन, आर्थिक असमानता जस्ता आफ्ना एजेन्डालाई अझ बलियोसँग अगाडि बढाउन प्रोत्साहित गर्ने बताइएको छ ।
न्युयोर्क जस्तो सबैभन्दा ठूलो अमेरिकी सहरमा मेयरको रूपमा भाडा नियन्त्रण, किफायती आवास जस्ता ममदानीका नीतिहरू अन्य ठूला सहरहरूका लागि राष्ट्रियस्तरमा बहस तीव्र पार्न एक नमुना बन्न सक्ने बताइएको छ ।
ममदानीको जितले के पनि देखाउँछ भने डेमोक्रेटिक पार्टीमा मध्यमार्गी र प्रगतिशील गुटहरूबीचको वैचारिक संघर्ष अझ गहिरो हुनेछ । ममदानी आफ्नो प्यालेस्टाइन समर्थक अडानका लागि परिचित छन् । उनको यही अडानले चुनावलाई प्रभावित गर्यो । उनी इजरायलको नीतिका कडा आलोचक हुन् । उनले इजरायली प्रधानमन्त्री नेतान्याहू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना गर्दै दुवैको आलोचना गरेका थिए । उनी प्यालेस्टिनी अधिकारका लागि मुखर रहेका छन् ।
ममदानीका पिता गुजरातीमूलका हुन् । गुजरातका घटनाहरूको ममदानीमाथि धेरै असर पर्यो । यसैले उनी प्रायः मोदीको तुलना नेतान्याहूसँग गर्छन् । प्यालेस्टाइनमा ६५ हजार मानिसको नरसंहारको जिम्मेवार नेतान्याहूलाई मानिन्छ । ट्रम्पले ममदानीलाई यहूदीविरोधी भने र न्युयोर्कका यहूदी मतदाताहरूलाई उनलाई भोट नदिन अपिल गरेका थिए । यसले के देखाउँछ भने, इजरायल–प्यालेस्टाइनको मुद्दा अब अमेरिकी स्थानीय चुनावहरूमा पनि ध्रुवीकरणको एउटा प्रमुख हतियार बनेको छ ।
ममदानीको जितले एक प्रमुख अमेरिकी सहरमा प्यालेस्टाइनको समर्थनमा खडा हुने एक उमेदवारले ट्रम्पको भारी विरोधका बाबजुद पनि बहुमत हासिल गर्न सक्ने क्षमता दर्शाउँछ । यसले राष्ट्रियस्तरमा इजरायल समर्थक नीतिहरूको प्रभुत्वलाई चुनौती दिन सक्छ ।
डेमोक्रेटको जित के ट्रम्पका लागि खतरा हो ?
यो जित ट्रम्पका लागि एउटा ठूलो र वास्तविक खतरा मानिएको छ । यी चुनाव विशेषगरी भर्जिनिया जस्ता स्विङ स्टेटमा ट्रम्प ब्रान्डको राजनीतिले उनीबाट टाढिएका मतदाताहरूलाई फिर्ता ल्याउन सकिरहेको भन्ने दर्साउँछन् । यो उनको राष्ट्रिय अपिलमा आएको गिरावटको संकेत हो ।
यो चुनावमा मतदाताहरूका मुख्य मुद्दाहरू आर्थिक असमानता, स्वास्थ्य सेवा र आवास रहेका छन् । जसमा प्रगतिशील डेमोक्रेटहरूको बलियो अडान छ । यसले के संकेत गर्छ भने ट्रम्पको सांस्कृतिक युद्ध र ध्रुवीकरणको रणनीति अब यी आर्थिक चिन्ताहरूलाई ढाक्न सक्षम छैन । डेमोक्रेटहरूको जितले पार्टीभित्र उत्साह र एकजुटता बढाउँछ, जुन २०२६ को मध्य–अवधि चुनावका लागि महत्त्वपूर्ण छ ।
ममदानीको जित र भर्जिनिया तथा अन्य राज्यहरूमा डेमोक्रेटिक पार्टीको बलियो प्रदर्शनलाई आगामी २०२६ को मध्यावधि चुनावका लागि एउटा महत्त्वपूर्ण आधार मान्न सकिन्छ । यी नतिजाहरूले डेमोक्रेटिक पार्टी, विशेषगरी आफ्ना प्रगतिशील र मध्यममार्गी दुवै गुटमार्फत मतदाताहरूलाई सक्रिय गर्न सफल भएको संकेत दिने बताइएको छ ।
ममदानीको जितले प्रगतिशील उमेदवारहरूलाई ठूला सहरी निर्वाचन क्षेत्रहरूमा उत्साह र प्रेरणा दिनेछ । जहाँ उनीहरूले किफायती आवास र सामाजिक सुरक्षा जाल जस्ता मुद्दाहरूमा जोड दिनेछन् ।
यता, भर्जिनियामा मध्यममार्गी डेमोक्रेटको जितले के दर्साउँछ भने, पार्टी सहरी र स्विङ क्षेत्रहरूमा पनि ट्रम्पविरोधी भावना र आर्थिक चिन्ताहरूलाई उपयोग गर्न सक्षम छ ।
ट्रम्पको विभाजनकारी राजनीति र सांस्कृतिक युद्धको रणनीति अब आर्थिक चिन्ताहरू जस्तै महँगी र जीवनयापनको बढ्दो लागतलाई ढाक्न सक्षम छैन, जुन मतदाताहरूका लागि मुख्य मुद्दा बनेका छन् । मध्य–अवधि चुनावमा, रिपब्लिकन पार्टीले यदि आफ्ना उमेदवारहरूको चयनमा सावधानी नअपनाए सायद नतिजा बदल्न सक्नेछैन ।
यदि उनीहरूले ट्रम्पप्रति वफादार तर उनीहरूको व्यापक अपिल नभएका उमेदवारहरूलाई मैदानमा उतार्छन् भने डेमोक्रेटहरूलाई प्रतिनिधिसभा र सिनेटमा सिटहरू जित्ने एउटा ठूलो मौका मिल्न सक्छ । समग्रमा, यी चुनावहरूको असर मध्य–अवधि चुनावमा पर्ने निश्चित छ । मध्य–अवधि चुनावमा रिपब्लिकन पार्टीबाट प्रतिनिधिसभामाथि नियन्त्रण फिर्ता लिने स्थिति बन्न सक्छ । एजेन्सीको सहयोगमा