काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने गरी अध्यादेश जारी गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेश अनुसार विदेशमा रहेका नेपालीहरूले दूतावासमा मतदान गर्नेछन् । त्यसका लागि निर्वाचन आयोगले नेपाल सरकारको अधिकृतलाई निर्वाचन अधिकृत तोक्नेछ ।
गृह मन्त्रालय स्रोतका अनुसार अध्यादेशमा विदेशस्थित नेपाली दूतावासहरूलाई नामावली जाँचदेखि मतगणनासम्मको अधिकार हुनेछ । दूतावासहरूले निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूको विवरण संकलन गर्नेछ साथै जाँच गर्नेछ ।
‘अध्यादेशले दूतावासबाटै नामावली संकलन, मतदान र मतगणना गर्ने व्यवस्था गर्न लागेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘कानुन मन्त्रालयले अध्यादेशको मस्यौदा ‘रिभ्यू’ गरिराखेको छ ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन तयारी गरिरहेको बताएका थिए ।
उनले नेपालभित्रै पनि एउटा निर्वाचन क्षेत्रमा बसोबास गर्ने व्यक्तिले आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रमा मतदानको व्यवस्था मिलाउने गरी काम गरिरहेको समेत बताएका थिए । तर गृह मन्त्रालय स्रोतका अनुसार अहिले कानुन मन्त्रालयमा पठाइएको अध्यादेशमा भने यस्तो व्यवस्था छैन ।
यसपटक सरकारले विदेशमा भएका नेपालीहरूलाई निर्वाचन क्षेत्रको व्यक्ति छान्नेभन्दा पनि दल छान्न मिल्ने गरी समानुपातिकतर्फ मात्र मतदानको अधिकार दिन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ फागुन ७ गते विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश जारी गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्ने विषयमा नीति अनुसन्धान प्रतिष्ठानलाई यसअघि नै अध्ययनको जिम्मा दिइसकेको छ । प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मणप्रसाद भट्टराईले विभिन्न मुलुकले अपनाएका मतदानका तौरतरिकाबारे अध्ययन भइरहेको बताए ।
‘हामीले अहिले विभिन्न मुलुकका अनुभव अध्ययन गर्दैछौँ । अध्ययन प्रारम्भिक तहमा छ,’ भट्टराईले भने, ‘हामी आयोगसँग पनि छलफल गर्छौं ।’ सरकारले प्रतिनिधि सभा निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, निर्वाचन कसूर तथा सजाय ऐन र मतदाता नामावली ऐनमा अध्यादेश मार्फत् संशोधन गर्ने तयारी गरिरहेको छ ।