बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अवैध अनलाइन स्क्याम केन्द्रबाट उद्धार गरिएका ३७ जना नेपाल फर्किए


    हुलाक प्रेस

    • बुधबार, मंसिर ३ २०८२०९:१५
    अवैध अनलाइन स्क्याम केन्द्रबाट उद्धार गरिएका ३७ जना नेपाल फर्किए

    काठमाडाैँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न बाटो हुँदै म्यान्मार पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन हुने अनलाइन स्क्यामिङ केन्द्रहरूमा थुनिइरहेका ३७ नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

    अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीजस्ता गैरकानुनी गतिविधिमा जबर्जस्ती लगाइएपछि ती नेपालीहरू १९ अक्टोबर २०२५ मा म्यान्मार सुरक्षाकर्मीको छापादरम्यान भागेर थाइल्याण्ड प्रवेश गरेका थिए।

    थाइल्याण्डस्थित नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूको सक्रिय समन्वयमा उनीहरूलाई सुरक्षित उद्धार गरी आज नेपाल एयरलाइन्स मार्फत काठमाडौँ ल्याएको हो।

    यसबाहेक म्यान्मारको म्यावडीमा रहेको थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपालीलाई पनि चाँडै नै स्वदेश फर्काउने प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको राजदूतावासले जनाएको छ।

    नेपाल सरकारले तोकेअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानाहुने र “छिटो धेरै कमाइ“ का प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यान्मार, थाइल्याण्डजस्ता मुलुकमा भ्रमणका नाममा वैदेशिक रोजगारीमा नजान राजदूतावासले पुनः सबैलाई आग्रह गरेको छ।

    साथै, आमसञ्चार माध्यम, नागरिक समाज र सम्बन्धित सबैलाई यो सन्देश व्यापक रूपमा प्रवाह गर्न सहयोग गरिदिन पनि अनुरोध गरिएको छ।


    प्रतिक्रिया दिनुहोस