काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानविरुद्ध दिएको टिप्पणीले सिर्जना गरेको विवादलाई चीनले संयुक्त राष्ट्रसंघम्म पुर्याएको छ । पूर्वी एसियाका यी दुई क्षिमेकी देशबीचको तनाव सन् २०२३ पछिको सबैभन्दा तल्लोस्तरसम्मै झरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कंगले शुक्रबार महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै भनेका छन्, “जापानले ताइवानको तनावमा सैन्य हस्तक्षेप गर्ने दुस्साहस गरेमा त्यो आक्रामक कार्य हुनेछ ।”
यो कूटनीतिक विवाद नोभेम्बरमा सुरु भएको थियो । त्यतिबेला भर्खरै पद सम्हालेकी ताकाइचीले ताइवानमा चीनले गर्न सक्ने आक्रमणप्रति जापानले के प्रतिक्रिया दिने भन्नेबारे टिप्पणी गरेकी थिइन् । चीनले त्यसको खण्डन माग गरेको छ । यद्यपि, जापानी प्रधानमन्त्रीले अहिलेसम्म खण्डन गरेकी छैनन् ।
विवाद अहिले व्यापार युद्धमा परिणत भएको छ भने दुवै देशबीच लामो समयदेखि विवादित क्षेत्रमा सुरक्षासम्बन्धी तनाव पनि बढेको छ ।
कसरी बढ्यो विवाद ?
विवादले अब व्यापारिक प्रतिशोधको रूप लिएको छ । नोभेम्बर १४ मा चीनले आफ्ना नागरिकलाई जापानमा यात्रा नगर्न 'ट्राभल एडभाइजरी' जारी गरेको थियो । यसले जापानको पर्यटन क्षेत्रलाई निसाना बनाएको देखिएको छ । यो वर्ष जनवरी–सेप्टेम्बरमा जापानले ७५ लाख चिनियाँ पर्यटक भित्र्याएको छ ।
नोभेम्बर १५ मा तीन चिनियाँ एयरलाइन्सले जापान जाने उडानका लागि पैसा फिर्ता वा टिकट परिवर्तनको प्रस्ताव गरेका थिए ।
दुवै देशले हालै एकअर्काका नागरिकविरुद्ध आक्रमण भएको बताएका छन् । तर, आक्रमण दुवै देशबीच भएको पछिल्लो घटनासँग सम्बन्धित छन् वा छैनन् भन्ने स्पष्ट छैन ।
सेनकाकु द्वीपमा पनि तनाव
दुई देशबीचको तिक्तताले सेनकाकु द्वीपवरपर पनि तनाव बढेको छ । जापानले यसलाई सेनकाकु द्वीप भन्छ भने चीनले दियाओयु द्वीप भन्दै आएको छ ।
गत आइतबार चीनियाँ तटरक्षकले पूर्वी चीन सागरमा दुवै देशले दाबी गरेका द्वीपवरिपरि गस्ती गरेको बताएको थियो । यता, फेरि जापानले चार चिनियाँ तटरक्षक जहाजले नियम उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ ।
चीन–जापानको सामुद्रिक खाद्यको प्रमुख खरिदकर्ता
चीन जापानको समुद्री काँक्रो (सी क्युकुम्बर) को प्रमुख खरिदकर्ता हो । समाचार एजेन्सी रोयटर्सका अनुसार, यो विवादले विशेषगरी सामुद्रिक खाद्य निर्यात गर्दै आइरहेका जापानी कम्पनी व्यापारमा पार्न सक्ने प्रभावबारे चिन्तित छन् ।
चीन जापानको अर्थतन्त्रमा खासै निर्भर नभए पनि जापान भने चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो । चीनले जापानलाई विद्युतीय उपकरण, मेसिनरी, लुगा र सवारीसाधन निर्यात गर्छ ।
फाइनान्सियल डाटा वेबसाइटको ट्रेडिंग इकोनोमिक्सका अनुसार, सन् २०२४ मा जापानले चीनबाट १५२ अर्ब डलरबराबरको सामान खरिद गरेको थियो ।
सन् २०२३ मा जापानले फुकुसिमा आणविक संयन्त्रबाट प्रशान्त महासागरमा विकिरणयुक्त पानी छाडेपछि चीनले जापानी खाद्यान्न आयातमा प्रतिबन्ध लगाएको थियो ।