काठमाडौ । न्युजिल्यान्ड सरकारले सन् २०५० सम्ममा देशबाट जङ्गली बिरालाहरूलाई पूर्ण रूपमा मार्ने निर्णय गरेको छ ।
यसको उद्देश्य देशका अन्य कमजोर जीवजन्तु र चराचुरुङ्गीहरूलाई बचाउनु रहेको छ । बिरालाहरूले यिनको शिकार गर्छन् । संरक्षण मन्त्री तामा पोटाकाले जङ्गली बिरालाहरूलाई अत्यन्तै खतरनाक बताए ।
उनले ती बिरालाहरूलाई अब ‘प्रिडेटर फ्री २०५०’ कार्यक्रममा समावेश गरिएको बताए । यो कार्यक्रम सन् २०१६ मा चरा, चमेरो, छेपारा र कीराहरूका लागि खतरा उत्पन्न गर्ने आक्रामक प्रजातिहरूलाई समाप्त गर्न सुरु गरिएको थियो।
पोटाकाका अनुसार, यी बिरालाहरू शिकारी हुन्छन् । यिनीहरू घरपालुवा बिरालाहरूभन्दा फरक, मानिसहरूबाट टाढा बस्छन् र पूर्ण रूपमा शिकार गरेर मात्र जीवित रहन्छन् ।
यी बिरालाहरू न्युजिल्यान्डका जङ्गलहरू र टाढाका टापुहरूमा बस्छन् । यिनको सङ्ख्या करिब २५ लाखभन्दा बढी छ। यी बिरालाहरू एक मिटरसम्म लामा हुन सक्छन् र तौल ७ किलोसम्म हुन्छ ।
पोटाकाले एक हप्तामा जङ्गली बिरालाहरूले १०० भन्दा बढी सानो पुच्छर भएका चमेरोहरूलाई मारिदिएको बताए । साथै, उनीहरूले स्टेवार्ट टापुमा पाइने दक्षिणी डोटरल चरालाई पनि लगभग लोप हुने अवस्थामा पुर्याइदिएका उनले जानकारी दिए ।
जङ्गली बिरालाहरूले टोक्सोप्लाज्मोसिस नामक खतरनाक रोग पनि फैलाउँछन्, जसले डल्फिन, मानिस र पशुहरूलाई हानि पुर्याउँछ ।
(एजेन्सीहरूको सहयोगमा)