काठमाडौँ । कञ्चनपुरमा नभएको घर देखाएर बैंकबाट ३३ लाख ७५ हजार ऋण लिने कार्यमा संलग्न एक प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिहीबार बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव-इन्जिनियर तेज बहादुर सुनार र जग्गाधनी शान्ती नाथविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जग्गाधनी नाथले बेलडाँडी २ को आफ्नो जग्गामा दुई तले पक्की घर छ भन्दै नक्सा बनाएर लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएका थिए ।
तर आयोगले गरेको अनुसन्धानमा नाथको जग्गामा कुनै घर नभएको पाइएको सहायक प्रवक्ता अधिकारीले बताए । उनकाअनुसार घर नक्सा पास र अभिलेखीकरणमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीको पनि मिलेमतो देखिएको छ ।