काठमाडौं ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौंको साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेकोमा सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
२५ सदस्यीय नयाँ सञ्चालक समितिमा कतिपय सदस्यहरु पदेन सदस्यका रुपमा रहेका छन् भने नयाँ सस्यहरुमा पूर्व सांसद विशाल भट्टराई, पूर्व मन्त्री विक्रम बहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवि लामा,भरत ढकाल,लोकेन्द्र शाही लगायत चयन भएका छन् ।
वि. सं २०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ । यस क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, लगायतका विषय र स्नातकोत्तर तहमा अंग्रेजी, समाजशास्त्र विषयमा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन भइरहेको छ ।
त्यस्तै शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहमा ४ बर्षे वि. एड. मा नेपाली, अंग्रेजी र स्वास्थ्य तथा शारीरिक विषयमा र स्नातकोत्तर तहमा एम.एड. नेपाली तथा व्यवस्थापन संकाय अन्तर्गत ४ बर्षे वि. वि. एस. र बि. बिएम. र स्नातकोत्तर तह अन्तर्गत एम. वि. एस तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यस अघि साधारण सभाको उद्घाटन सत्रमा बोल्दै बाग्मती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको चर्चा गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पूर्वमन्त्री विक्रम बहादुर थापाले क्याम्पसमा विद्यार्थी संख्या बढाउन क्यापम्पसलाई थप सुदृढ र सक्षम बनाउन आवश्यक सुधार गर्दै अगाडी जानु पर्ने बताए ।
क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्राहरलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको जानकारी दिए । उनले क्याम्पसलाई क्यूएए स्तरोन्नतिका लागि विश्वविद्यालय अनुदान आयोगमा आवश्यक प्रक्रिया अघि बढाएर काम भइरहेको जानकारी दिँदै शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस प्रशासन निरन्तर प्रतिबद्ध रहेको बताए ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकुलका विषयहरु थप्दै क्याम्पसलाई गुणस्तरिय शैक्षिक केन्द्र बनाउनु पर्ने यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
क्याम्पसका शैक्षिक निर्देशक प्रा. डा. जयन्तनाथ खनाल क्याम्पसले आगामी शैक्षिक कार्यक्रम विस्तार अन्तर्गत व्यवस्थापन संकायमा नयाँ कार्यक्रम सञ्चालनका लागि आवेदन दिइसकिएको र कानुन संकाय ल्याउने तयारीसमेत भइरहेको जानकारी दिए ।
क्याम्पसका कार्यक्रममा आर्थिक तथा प्रशासनीक निर्देशक प्राध्यापक बाबुराम पौडेल, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निलकण्ठ भुसाल, प्राध्यापक संघका सहसचिव टीपी भुसाल लगायतले सामुदायिक क्याम्पसको रुपमा रहेको कन्या क्याम्पसलाई नारी शिक्षाको लागि उत्कृष्ट गन्तव्य बनाउनु पर्ने बताए ।