काठमाडौँ । काठमाडौँ उपत्यकामा अघिल्लो दिनको तुलनामा आज (सोमबार) न्यूनतम तापक्रम घटेको छ भने अधिकतम तापक्रम बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्दा अधिकतम तापक्रम १५.७ डिग्री सेल्सियसमा उक्लिएको हो । हिजो (आइतबार) काठमाडौँमा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५.३ डिग्री सेल्सियस थियो ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ । यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।