काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विभिन्न दलबाट श्रीमान्–श्रीमती नै उमेदवार बनेका छन् ।
नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठका श्रीमान्–श्रीमती नै उमेदवार छन् । महासेठ धनुषा क्षेत्र नम्बर–४ बाट उमेदवार छन् । उनकी पत्नी जुलीकुमारी महतो (महासेठ) धनुषा–३ बाट उमेदवार बनेकी छन् । उनीहरू दुवै पूर्वमन्त्री समेत हुन् ।
एमाले नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोक–२ बाट उमेदवार बनेका छन् । उनकी पत्नी उषाकला राई एमालेको समानुपातिक उमेदवार छिन् । राई समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरको चार नम्बरमा छिन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेल नवलपरासी–२ बाट प्रत्यक्ष उमेदवार छन् । बागलुङ–१ बाट यसअघि निर्वाचित पौडेल निर्वाचन क्षेत्र फेरेर उमेदवार बनेका हुन् । उनकी श्रीमती वलावती शर्माको नाम नेकपाको समानुपातिक सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा राखिएको छ ।
पतिपत्नी भए पनि पार्टी राजनीतिमा यी तीन नेत्रीको आफ्नो छुट्टै योगदान छ । त्यसैगरी पत्रकार ऋषि धमला पनि चुनावमा होमिएका छन् । उनी आम जनता पार्टी (आजपा) बाट रौतहट–४ को उमेदवार बनेका हुन् । उनकी श्रीमती एलिजा गौतम समानुपातिक सूचीमा छन् । आजपा र जनादेश पार्टीले संयुक्त रुपमा बुझाएको समानुपातिक सूचीमा गौतम खसआर्यतर्फको महिलामा पहिलो नम्बरमा छन् ।