काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साक्षीका रूपमा पेस गरिएका व्यक्तिले नै अदालतमा वकपत्रका बेला ‘होस्टाइल’ बनेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा होस्टाइल (प्रतिकुल बकपत्र) गरेको आरोपमा सजायको माग राखेर मुद्दा चलाइएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार (माघ २२) साजायको माग राखेर आयोगले मुद्दा दायर गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ता गर्ने प्रयोजनका लागि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा छानबिन हुँदा तेजबहादुर र सानुकान्छाले सरकारी साक्षीका रूपमा काम गरे पनि अदालतमा मुद्दा प्रभावित पार्ने गरी प्रतिकुल बकपत्र गरेको दाबी अख्तियारको छ ।
अख्तियारले मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतमाथि छानबिन हुँदा अभियोगबाट तेज बहादुर र सानुकान्छालाई सरकारी साक्षीका रूपमा छुट दिएको थियो । भ्रष्टाचार मुद्दामा उनीहरूले ०८२ भदौ २३ गते अदालतमा बकपत्र गरेका थिए ।
बकपत्रमा आयोगमा अनुसन्धानको बेला गरेको बयानको ठीक उल्टो जवाफ दिएको अख्तियारले जनाएको छ । अनुसन्धानको क्रममा उनीहरूले नै विचौलियका रूपमा घुस दिएको पुष्टि भए पनि अख्तियारलाई अनुसन्धानमा सघाएको भन्दै अभियोगदाबीमा छुट दिइएको हो ।
अख्तियारका साक्षी रहेका तेज बहादुर र सानुकान्छा तामाङलाई पनि मालपोत अधिकृत आचार्य सरह नै २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुनुपर्ने माग अख्तियारको छ ।