काठमाडौँ । जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गर्ने तयारी भएको छ। यसअघि दुईपटकमा ५० दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइनसकेकाले तेस्रो पटक थप गर्ने तयारी भएको हो।
‘हामी तोकिएकै समयमा काम सक्ने कोसिस गरिरहेका छौँ। अझै पनि केही काम बाँकी नै छ। तर काम सकिएन भने त म्याद थप्न पर्छ’, आयोगका एक सदस्यले भने।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ९ गतेदेखि तीन महिनाको समय पाएको आयोगको म्याद आगामी बुधबार सकिँदैछ। बुधबार सम्ममा प्रतिवेदन बुझाउने सम्भावना काम देखिएको छ। मंगलबार वा बुधबार आयोगले सरकारसँग थप समय माग गर्ने तयारीमा रहेको स्रोतको दाबी छ।
‘आयोगले अहिले नै प्रतिवेदन बुझाउँदैन अझै केही समय लाग्छ। अहिले पनि कतिपय कार्यालयबाट कागजपत्र झिकाइरहेको भन्ने बुझिएको छ। एनजीओका कागजातहरू पनि पछिल्लो समय खोजि गरिरहेको बुझिन्छ। त्यसहिसावले अझै समय थप हुने नै देखिन्छ’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘तर अहिलेसम्म औपचारिक प्रस्ताव आइसकेको छैन।’
असोज ९ गतेबाट सुरु भएको आयोगको म्याद पुस ९ गते सकिएको थियो। तर सरकारले एक महिना थप गरेर माघ ९ गतेसम्म पुर्याएको थियो। त्यो अवधिमा पनि आयोगले प्रतिवेदन दिन सकेन र दोस्रो पटक म्याद २० दिन थप भयो। यो म्याद माघ २८ गते सकिँदैछ।