काठमाडौँ । करिब २५० जना नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पठाउने दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ।
मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
कलबहादुर यसअघि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन्। अमित बस्नेत भने हाल फरार रहेका छन् । प्रतिवादी कलबहादुर बस्नेतलाई उनको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी मागदाबी लिइएको छ ।
अर्का प्रतिवादी अमित बस्नेतलाई निजको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा बिगो कायम गरिएको छ ।
प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकहरूलाई विना इजाजत कानुन विपरीत गैरकानुनी बाटोबाट विभिन्न देश हुँदै मानव तस्करीको रुपमा अमेरिका प्रवेश गराएको पाइएको छ ।
यस्तै केही मानिसहरूलाई अमेरिका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारेको मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरूले केही रकम नगदै र केही रकम आफ्नो नाममा सञ्चालनमा रहेका विभिन्न बैंक खाताहरूमा जम्मा गर्न लगाउने गरेको देखिएको प्रहरीको दाबी छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन‚२०६४ अनुसार विगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय गर्न माग समेत गरिएको छ । उनीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन‚ २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिइएको छ ।