बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा


    हुलाक प्रेस

    • शनिबार, फागुन १६ २०८२०३:३४
    किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा

    सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन् । 

    सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनकी छोरीको उपस्थितिलाई विशेष रूपमा देखाइएको छ, जसले उत्तराधिकार सम्बन्धी अड्कलबाजीलाई पुनः बल दिएको छ ।

    कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले शुक्रबार पार्टी र सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षको अवधिमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गरेको बताइएको छ ।

    सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम यो जोङसहित अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

    रिपोर्टले किमकी बहिनी किम यो जोङ हाल पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ । उनले पछिल्ला वर्षहरूमा वासिंटन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आएकी थिइन् । 

    नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन र सञ्चालनमा उनको प्रभाव विस्तार भएको संकेत गर्छ । तस्बिरहरूमा किमकी छोरीले पनि राइफल समातेको देखिएको छ । नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी किम जु ए त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम र कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन् । 

    १३ वर्षकी उनलाई उत्तराधिकारी बनाउने तयारीबारे दक्षिण कोरियाली अधिकारीहरूले चासोपूर्वक निगरानी गर्दै आएका छन् । सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो । बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहोर्‍याएका थिए । दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको संकेत गरेका थिए । तर, आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह दोहोर्‍याएका थिए । रासस/एपी


    प्रतिक्रिया दिनुहोस