काठमाडौं । स्पेनकी रक्षामन्त्री मार्गरीटा रोबलेसले सोमबार स्पेनले इरान युद्धमा संलग्न अमेरिकी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेकी छिन् ।
पश्चिम एसियामा अमेरिका र इजरायलको युद्धविरुद्ध स्पेनले चालेको यो अर्को ठूलो कदम मानिएको छ । स्पेनले यसअघि नै अमेरिका–इरान द्वन्द्वमा संयुक्त रूपमा सञ्चालित सैन्य अड्डाहरूको प्रयोग गर्न नपाउने स्पष्ट पारिसकेको थियो ।
प्रधानमन्त्री पेद्रो साञ्चेजले अमेरिका, इजरायल र इरानलाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । यस युद्धलाई स्पेनका प्रधानमन्त्री साञ्चेजले यसअघि नै ‘अवैध, लापरवाह र अन्यायपूर्ण’ भनिसकेका छन् ।
यसै महिनाको सुरुमा उनले भनेका थिए, “तपाईंले एउटा अवैध कार्यको जवाफ अर्को अवैध कार्यद्वारा दिन सक्नुहुन्न, किनभने मानवताका ठूला विपत्तिहरू यसरी नै सुरु हुन्छन् ।”
रक्षामन्त्री रोबलेसले यस द्वन्द्वमा स्पेनको हवाई क्षेत्रको प्रयोग गर्ने विषयमा पनि सोही तर्क लागु हुने बताएकी छिन् ।पत्रकारहरूसँग कुरा गर्दै रोबलेसले भनिन्, “यो कुरा अमेरिकी सेना र सुरक्षा बलहरूलाई सुरुदेखि नै पूर्ण रूपमा स्पष्ट पारिएको थियो । त्यसैले, न त हाम्रा सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति छ, र न त इरानमा युद्धसँग सम्बन्धित कुनै पनि कारबाहीका लागि स्पेनको हवाई क्षेत्रको प्रयोग गर्न नै अनुमति छ ।”
उता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले नेटो सदस्य राष्ट्रको रक्षा गर्ने प्रतिबद्धता जनाएको भए पनि स्पेनका नेताहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेको विषयमा घमण्ड गरिरहेको बताएका छन् ।
उनले ट्रान्स–एटलान्टिक सैन्य गठबन्धन अमेरिकाका लागि उपयोगी रहेको उल्लेख गर्दै भने, “यसले हामीलाई विश्वका त्यस्ता भागहरूमा सेना, विमान र हतियारहरू राख्न अनुमति दिन्छ, जहाँ सामान्यतया हाम्रा सैन्य अड्डाहरू हुँदैनन्, र यसमा धेरैजसो युरोप पनि सामेल छ ।”
युरोपभित्र इरानसँग जारी अमेरिका र इजरायलको युद्धविरुद्ध स्पेन सबैभन्दा कडा विरोधीका रूपमा उभिएको छ ।