शनिबार, भदौ १३ गते २०८३
  • यो साता चर्चामा :
  • रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा दृष्टि परीक्षण सम्पन्न


    हुलाक प्रेस

    • बुधबार, चैत १८ २०८२०८:५७
    रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा दृष्टि परीक्षण सम्पन्न

    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाईटले भक्तपुरको सुडालस्थित श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा आफ्नो प्रमुख "JYOTI" (Journey for Youth's Optical and Transformative Insight) परियोजना अन्तर्गत दृष्टि परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा कक्षा १ देखि १० सम्मका जम्मा ३६० विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।

    बालबालिकामा प्रायः बेवास्ता गरिने दृष्टिदोषको पहिचान र समाधान गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमले विद्यालयस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने दिशामा महत्वपूर्ण कदम चालेको छ । ज्योति परियोजना विद्यालयस्तरका बालबालिकामा पहिचान नभएका दृष्टिदोष न्यूनीकरण गर्ने दीर्घकालीन सामाजिक स्वास्थ्य पहल हो। परियोजना संयोजक तथा पूर्व अध्यक्ष राजाराम जोशीका अनुसार, "यस वर्ष परियोजनाले २ हजार ५ सय विद्यार्थीको दृष्टि परीक्षण गर्ने लक्ष्य राखेको छ।" परीक्षणका क्रममा समस्या देखिएका विद्यार्थीलाई थप जाँचका लागि साझेदार स्वास्थ्य संस्थामा पठाइने छ भने आवश्यकता भएका विद्यार्थीलाई निःशुल्क चश्मा उपलब्ध गराइने छ। यस कार्यक्रमले बालबालिकाको शैक्षिक क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा विद्यालय छोड्ने दर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    नेपालमा बालबालिकामा दृष्टि समस्या गम्भीर भए पनि अधिकांश अवस्थामा समयमै पहिचान हुन नसकेको अवस्था छ। विभिन्न अध्ययनहरूअनुसार ग्रामीण क्षेत्रका करिब ५.९% बालबालिका दृष्टि कमजोरीबाट पीडित छन्, जसको अधिकांश कारण सुधार गर्न सकिने refractive error हो। शहरी विद्यालयहरूमा पनि उल्लेख्य संख्यामा विद्यार्थीमा आँखासम्बन्धी समस्या देखिएको छ। नियमित दृष्टि परीक्षणको अभाव, चेतनाको कमी तथा आर्थिक सीमितताका कारण यस्ता समस्या समयमै पहिचान हुन नसक्नु बालबालिकाको शिक्षा र समग्र विकासका लागि गम्भीर चुनौती बनेको छ।

    परियोजना संयोजक तथा पूर्व अध्यक्ष राजाराम जोशीका अनुसार यो कार्यक्रम रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र रोटर्याक्ट क्लब अफ काठमाडौं हाईटको सहयोगमा सञ्चालन गरिएको हो। साथै, रोटरी क्लब अफ नानाइमो डेब्रेकको महत्वपूर्ण सहयोगले कार्यक्रमलाई थप प्रभावकारी र विस्तारित बनाउन सघाएको उनले बताए।

    सन् २०२० मा चार्टर्ड भएको रोटरी क्लब अफ काठमाडौं हाईटले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत तथा प्रतिकार्यलगायत विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएको छ। JYOTI परियोजना यसै निरन्तर सामाजिक प्रतिबद्धताको एक महत्वपूर्ण कडी हो।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ