लमजुङ । बेसीसहरबाट उस्ता जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
बेसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका –७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जीप ६० मिटर तल खसेर दुर्घटना भएको बताए ।
चालकसहितका १२ घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल बेसीसहरमा लगिएको थियो । दुर्घटनामा सोही स्थानका जीप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीया रिता गुरुङ, ४० वर्षीया विमलादेवी घले घाइते भएका हुन् ।
दुर्घटनामा घाइते हुनेहरूमा ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीया प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले छन् ।
घाइतेमध्ये सात वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।