बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा


    हुलाक प्रेस

    • आइतबार, जेठ १७ २०८३०८:५९
    राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा

    धरान । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आज र सोमबार इटहरीस्थित प्रदेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको हो ।

    प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोलीको सहभागिता रहने बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब एक हजार ७०० खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने राष्ट्रपति रनिङ शिल्डको १६औँ राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

    प्रशिक्षक तथा व्यवस्थापकसहित ११५ जनाको टोली राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ । सदस्यसचिव घोषले सीमित समय र विभिन्न चुनौतीका बाबजुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिएको बताए ।

    प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोको अध्यक्षतामा ४८ सदस्यीय मूल समारोह समिति गठन गरिएको उनले जानकारी दिए । 

    प्रतियोगिता सञ्चालनका लागि प्राविधिक समिति, खेलाडी उजुरी छानबिन समिति, खेलस्थल व्यवस्थापन उपसमिति, आवास तथा बसोबास उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, यातायात व्यवस्था उपसमिति, स्वास्थ्य व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति तथा प्रचारप्रसार उपसमितिलगायत विभिन्न समिति गठन गरिएको बोर्डले जनाएको छ । प्रतियोगिताका लागि करिब रु दुई करोड १० लाख खर्च हुने अनुमान गरिएको छ ।  रासस


    प्रतिक्रिया दिनुहोस