काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरूसँगै भक्तपुरको मध्यपुरठिमीको शिरिस कन्स्ट्रक्सनविरुद्ध पनि बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राई छन् । दायर गरेको मुद्दामा दुवै जनासँग अख्तियारले १८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
चम्पादेवी गाउँपालिकामा पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले १८ लाख ५० हजार रुपैयाँ सार्वजनिक संस्थालाई हानि पुग्ने गरी काम गरेको देखिएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।