काठमाडौं । गत अगस्टपछि पहिलो पटक म्यानचेस्टर सिटीको टोलीमा फर्किएका बेल्जियम स्टार केभिन डी ब्रुएनाको उपस्थितिमा सिटीले एफए कपमा हडर्सफिल्ड टाउनमाथि गोलवर्षा गरेको छ।
च्याम्पियनसिप क्लब हडर्सफिल्डमाथि ५-० को जित निकाल्दै सिटी एफए कपको चौंथो चरणमा प्रवेश गर्याे।
इथाइड स्टेडियममा घरेलु समर्थकमाझ सिटीले रवाफिलो प्रदर्शन गरेको थियो। ह्यामिस्ट्रिङ चोटका कारण डी ब्रुएना लामो समय मैदान बाहिर रहेका थिए। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सिटीका लागि फिल फोडेनले दुई गोल गर्दा अल्भारेज, ज्याक्सन र डोकुकका नाममा थप १-१ गोल रह्यो।
खेलमा फोडेनले ३३ औं मिनेटमा जुलियन अल्भारेजको पासलाई सदुपयोग गर्दा अल्भारेजले ३७ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। त्यस्तै, दोस्रो हाफमा बेन ज्याक्सनले आत्माघती गोल गर्दा सिटी ३-० ले अघि रह्यो।
टिमका लागि चौंथो गोल फोडेनले नै ६५ औं मिनेटमा गरेका थिए। अर्काे गाेल जेरेमी डोकुको नाममा रह्यो।