काठमाडौँ । क्याथे प्यासिफिक एयरवेजमा कार्यरत निरज शाखकर्मीलाई प्रहरी रिपोर्ट दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले मंगलबार शाखकर्मीको निवेदनमा सुनुवाइ गर्दै प्रहरी रिपोर्ट चारित्रिक प्रमाण पत्र उपलब्ध गराउन आदेश दिएको हो ।
शाखकर्मी ७ वर्षदेखि उक्त एयरलाइन्समा कार्यरत छन् । तर उनीविरुद्ध जबरजस्ती करणीको आरोपमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा जिल्ला अदालतले सफाइ दिए पनि उच्च अदालतले दोषी ठहर गरेको थियो ।
त्यसविरुद्ध फेरि सर्वोच्च पुगेका उनको निवेदन विचाराधीन रहेकै अवस्थामा प्रहरीले चारित्रिक प्रमाण पत्र नदिँदा आफ्नो रोजगारी खोसिने अवस्था आएको भन्दै प्रहरी रिपोर्ट माग दिन आदेश माग गर्दै उनले सर्वोच्चमा निवेदन दिएका थिए ।
त्रिभुवन विमानस्थलमा यात्रुहरुको सेवाका लागि टर्मिनल भित्र आवतजावत गरिरहनु पर्ने र प्रहरीले चारित्रिक प्रमाण पत्र नदिँदा नेपाल नागरिक उड्डयन कार्यालयले विमानस्थल प्रवेश पास उपलब्ध गराएको थिएन ।
यस्तो अवस्थामा निवेदकको पेशा रोजगारी गर्न पाउने संविधान प्रदत्त हकमा बाधा उत्पन्न हुन गइ बेरोजगारी हुनुपर्ने देखिएको भन्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको छ ।