बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ हुने


    हुलाक प्रेस

    • बुधबार, पुस २५ २०८००९:३५
    राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ हुने

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको मनोनयपत्र माथि आज (बुधबार) जाँच हुने भएको छ। साथै, उम्मेदवारविरुद्ध परेका उजुरी उपर पनि बुधबार नै जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ। 

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गरेको थियो। यस्तै, मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार उजुरी आह्वान गरेको थियो। बुधबार हरेक उम्मेदवारको मनोनयनपत्रका साथै सो उपर कुनै उजुरी परे नपरेको जाँच गरेर निर्णय गरिने आयोगको कार्यतालिका छ। 

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए। राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए। 

    राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। 

    आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो। 

    पदावधि सकिन लागेका २० मध्ये राष्ट्रपतिबाट मनोनित हुने एउटा सिट बाहेक अन्य १९ सिटका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि सात प्रदेशमा १–१ मतदानस्थल र २–२ वटा मतदान केन्द्र कायम गरिएको छ।


    प्रतिक्रिया दिनुहोस