काठमाडौं । बालयौन दुरुपयोग मुद्दामा आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएको छ।
मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालत सर्लाहीमा बिहीबार नै बम्जनको बयान लिइएको थियो।
बम्जनलाई थुनामा पठाउने आदेश माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दाहालले बहस गरेका थिए।
त्यस्तै बम्जनको पक्षबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए। दुवै पक्षको बहस सकिएपछि रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो।
आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि थियो। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएपछि बम्जनलाई अब कारागार चलान गरिनेछ। बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारा छ।
बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।
प्रहरीले अनुयायी बेपत्ता पारेको भनेर परेको उक्त मुद्दामा पनि अनुसन्धान अघि बढाउने तयारी गरेको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाराले उपस्थित गराउन आग्रहसहित बिहीबार नै सर्लाही प्रहरीलाई पत्र लेखिसकेको छ।
बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए।