संसारको सबैभन्दा संवेदनशिल काम के हो भनेर कसैले सोध्यो भने त्यसको उत्तर हुन सक्छ अभिभावक बन्नु । अभिभावक बन्नु त्यति सजिलो काम होइन । एक असल अभिभावकले बालबालिका पालनपोषण त उचित ढंगले गर्नु पर्ने हुन्छ ।
साथसाथै हामी बालबालिकाको नजिकको साथी समेत बन्नुपर्छ । जसले गर्दा बालबालिकाले कुनै पनि कुरा नलुकाई ढुक्कले भन्न सकुन्, आफ्ना अभिभावक सामु सबै कुरा खोलुन् । त्यसरी नै परिवारले नै धान्न नसक्ने परिवारका सदस्यलाई नटेर्ने र विद्यालयमा समेत राम्रो विद्यार्थीमा नगनिएका बालबालिकाहरु आफै त्यस्तो अवस्थासम्म पुगेका हुँदैनन् । साथी, परिवार, समाज कतैबाट तिरस्कार भएर त्यस्तो अवस्थामा आइपुगेको हुन सक्छन् ।
यस्तो सुधारको पर्खाइमा रहेका बालबालिकाको साथी बन्न सक्नुपर्छ । परिवारका सदस्य वा शिक्षक जो उनीहरुको सम्पर्कमा आउनुहुन्छ उनीहरुले यस्तो समस्याका बारेमा बालबालिकाको मनोभावना बुझेर उनीहरुका आँट हिम्मत साहस र जीवन प्रतिको सकारात्मक सोचको विकास गर्दै दृढ विश्वास भरिदिन सक्नुपर्छ । राम्रा काम गर्दा प्रशंसा गरेर पुरस्कार दिन कहिल्यै चुक्नुहुँदैन । बदमास भनिएका बालबालिकाहरुमा पनि एउटा विशेष क्षमता अवश्य हुन्छ । त्यो क्षमतालाई पटक-पटक अगाडी ल्याउन प्रोत्साहन गरिरहने, तिमीले चाह्यौ भने जे पनि हुन सक्छ, तिमी एकदम राम्रो छौ, मलाई आफ्नो समस्या बताउ, म तिम्रो साथी जस्तै हो भनी विश्वास दिलाउन सकियो भने आफ्नो समस्या बताउँदै सहि मार्ग समात्न सक्छन् ।
कुनै-कुनै अवस्थामा बालबालिकालाई हुर्काउने क्रममा दिइने संस्कारमा परिवारबाट गल्ती हुन जान्छ । आजको २१ औं शताब्दीमा अनावश्यक सुविधा दिएर परनिर्भर बनाउने होइन बरु स्वाभिमानी, आत्मनिर्भर, स्वाबलम्बी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । किनकी संसारमा अगाडी बढेका जतिपनि व्यक्तिहरु छन्, ती सबै संर्घषको मैदानमा खारिएर नै अगाडि बढेका हुन् । अत्याधिक माया र सुविधाले पनि बालबालिकाको सिकाइमा अवरोध सिर्जना गर्दछ । बालबालिकाले गर्ने गरेका राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्ने बानीको विकाश गर्नुपर्छ । अनावश्यक प्र्रसंसाले पनि बालबालिकालाई घमण्डी बनाउँछ ।
आजको समयमा बालबालिकामा अभिभावकहरु स्वदेशभन्दा धेरै विदेशमा हुनुहुन्छ । जहाँ बस्नुभएपनि आफ्ना प्यारा सन्ततिका लागि हरेक दुःख अभाव र परिस्थितिसँग जुधेर आशाको ज्योती जगाउँदै यात्रामा अनवरत लागि रहनुभएको छ । ज्याला मजदुरी गर्ने र खेती किसानी गर्नेका सन्तानले उज्यालो यात्रा गर्न निकै कठिनाइको सामना गर्नु परेको हुन्छ । तर, यस्तो यात्रामा सबै वर्गका अभिभावकले संस्कारसहितको शिक्षा दिने हो भने हाम्रा बालबालिकालाई समृद्धितर्फ डोराउन केही चिजले छेक्दैन ।
अन्त्यमा, जीवनको पाठशालाको गुरु कसलाई बनाउने भन्ने कुरा होला ? जीवनको पाठशालामा प्रकृतिलाई नै गुरु मान्न सकिन्छ । प्रकृति आफ्नो नियममा अडिग छ । हरेक दिन सूर्योदय हुनु, साँझ सूर्यास्त हुनु, रितु परिवर्तका घटना हुनु, हिमाल पहाड आफ्नै स्थानमा दृढ हुन् । बगैंचामा अनेकौं प्रकारका फुलहरु मसक्क हाँसेर बसिरहनु । समुन्द्रलाई भेट्न भनेर निरन्तर यात्रामा नदी आफ्नै बेगले अगाडि बढिहरनु। यी सबैलाई आफ्नो गुरु मानेर ज्ञान आर्जन गर्न सकिन्छ ।