काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् । हिजोदेखि बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थी इजरायल पुगेका थिए ।
उनीहरू ११ महिनाका लागि इन्टर्न गर्न त्यहाँ पुगेका हुन् । त्यही क्रममा ‘पम्मी तसाज’ भन्ने स्थानमा एक फार्म हाउसमा इन्टर्न गर्दै आएका थिए । इजरायल र प्यालेस्टाइन हमासबीचको आक्रमणका कारण उनीहरू त्यही कृषि फार्म हाउसको बंकरभित्र लुकेर बसेका छन् ।
हिजोदेखि उनीहरू बंकरभित्रै लुकेर बसेका उनीहरू निकै त्रसित अवस्थामा छन् । सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘युद्ध जारी रहेको स्थानबाट हामी काम गर्ने फार्म २५ किलोमिटरको दूरीमा छ । तर, आवासीय क्षेत्रबाट टाढा एकान्तमा छ । सबै आत्तिएका छौँ । हिजो बिहानदेखि बंकरमा लुकेर बसेका छौँ ।’
आतङ्ककारी सहर प्रवेश गरेको हल्लाले आफूहरू बाहिर निस्किन सक्ने अवस्था नरहेको उनको भनाई छ । ‘यो फार्ममा हामी ११ जना मात्र छौँ । हिजोको साथीहरू परेको घटनाले बाहिर निस्कने आँट कसैमा छैन । यताबाट अहिल्यै कतै सुरक्षित ठाउँमा सारिदिन र सारिदिनका लागि पहल गरिदिनपर्यो’ उनले भन् ।
यसअघि इजरायल र गाजाको सीमा क्षेत्र नजिकै हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका थिए । १७ जनाको समूहमा रहेका ती विद्यार्थीहरू बंकरभित्रै बन्धक बनाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ ।
त्यही समूहमा रहेका विद्यार्थीहरूमध्ये एकजनाले निकै पीडादायी भिडियो सार्वजनिक गरेका थिए । जसमा उनले– ‘म मरेको खण्डमा घरमा आमालाई औषधि गरिदिनु है’ भनेका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई इजरायल पठाएको थियो । सेडट नेगेभ कलेजसँगको सम्झौतामा उनीहरू इजरायल पुगेका थिए । त्यसरी आक्रमणमा परेका सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन् ।
ती विद्यार्थीहरूको नेतृत्व गरेर दाङका विपिन सुवेदी इजरायल पुगेका थिए । उनले विद्यार्थीहरू निकै डर र त्रासको अवस्थामा रहेको बताए । उनले हिजोदेखि सामाजिक सञ्जालमार्फत सुरक्षित स्थानमा उद्धारको लागि अपिल गर्दै आएका थिए ।