काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेरि फोनमा कुराकानी गरेका छन्।
यसको जानकारी प्रधानमन्त्री मोदीले आफैंले सामाजिक सञ्जाल एक्स (पूरानाे ट्वीटर)मा दिएका हुन्।
उनले लेखेका छन्, ‘मेरो राष्ट्रपति पुटिनसँग राम्रो कुराकानी भयो। हामीले विशेष रणनीतिक साझेदारीका धेरै सकारात्मक पक्षहरूबारे छलफल गर्यौं र भविष्यका पहलकाे लागि मार्गचित्र तयार गर्न पनि सहमत भयौं। ब्रिक्समा रुसी अध्यक्षतासहित थुप्रै क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदानप्रदान भयाे।’
युक्रेन युद्ध सुरु भएदेखि यी दुई नेताले एकअर्काको देशको भ्रमण गरेका छैनन् तर फोनमा भने पटकपटक कुराकानी गरेका छन् ।
गत महिना मात्रै परराष्ट्रमन्त्री एस. जयशंकर भारत र रुसबीचको वार्षिक बैठकमा सहभागी हुन मस्को गएका थिए । तर, यस वार्षिक बैठकमा प्रधानमन्त्री मोदी सहभागी हुने भएका छन्। त्यतिबेला भ्लादिमिर पुटिन आफैंले पनि उनलाई भेटेका थिए, जसको निकै चर्चा पनि भएको थियो।