काठमाडौं । सर्वोच्च अदालतमा जनप्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर भएको छ ।
पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवाको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार रिट दायर गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अनावश्यक बल प्रयोग दुवै निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारी समेतलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन् ।
नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै सम्मानपूर्वक बाँच्नका लागि व्यवस्था गरिएका मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको उल्लेख गरेका छन् ।