बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिंगापुरका मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग


    हुलाक प्रेस

    • बिहीबार , माघ ४ २०८००२:४४
    सिंगापुरका मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग

    एजेन्सी । सिंगापुरका एक मन्त्रीमाथि भ्रष्टाचारको अभियोग लागेको छ। एकदम स्वच्छ शासन व्यवस्था भएकोमा गर्व गर्ने सिंगापुरबासी यो खबरबाट चकित परेका छन् । 

    तर, मन्त्री सुब्रमण्यम इश्वरन नामक ती मन्त्रीले आफूमाथिका २७ आरोपमा आफू निर्दोष भएको दाबी गरेका छन् । २००८ मा फर्मुला वन ग्रान्ड प्रिक्स आयोजना भएको समयमा उनी सिंगापुरको पर्यटन उद्योग हेर्ने गर्थे । 

    आरोपपछि बुधबार उनले राजीनामा दिएका छन् । सरकारी वकिलहरुले सार्वजनिक गरेको अभियोग पत्रमा उनले घरजग्गा व्यापारी वङ बेङ सेङको स्वार्थपूर्ति गरिदिएको सट्टामा १ लाख ६० हजार सिंगापुर डलर बराबरको विमानको टिकट, होटल खर्च र ग्रान्ड प्रिक्सको टिकटजस्ता उपहार प्राप्त गरेको उल्लेख छ ।

    गत वर्ष इश्वरन र वङ दुवै पक्राउ परेका थिए । बिहीबार इश्वरनले प्रधानमन्त्रीलाई पत्र लेखेका छन्, ‘यी अभियोगहरु म खारेज गर्छु। म निर्दोष छु ।’

    राजीनामा दिँदै उनले गत वर्ष जुलाईदेखि आफूमाथि छानबिन सुरु भएयता प्राप्त तलबभत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।

    उनी पक्राउ परेको समयमा उनलाई छुट्टीमा राखिएको थियो। तथापि उनलाई प्रतिमहिना ८ हजार ५०० तलब दिइएको थियो भने सांसदका रुपमा प्रतिमहिना १५ हजार सिंगापुर डलर भत्ता पनि उनले पाइरहेका थिए ।

    सिंगापुरका सांसदहरु विश्वकै उच्च तलब भएका सांसदमध्ये पर्छन् । मन्त्रीहरुको त मासिक तलब नै ४५ हजार सिंगापुर डलरबाट सुरु हुन्छ । उच्च तलबले भ्रष्टाचार रोक्न सहयोग गर्ने भन्दै नेताहरुले बचाउ गर्दै आएका छन् । इश्वरनले प्रधानमन्त्री कार्यालय, गृह, सञ्चार र पछिल्लो पटक यातायात मन्त्रालय सम्हालेका थिए । बीबीसी


    प्रतिक्रिया दिनुहोस