काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भएको छ। त्यस्तै, अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकियो।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा इन्जुरी समयमा गरेको एकमात्र गोल पोर्टोलाई पहिलो लेगमा अग्रता दिलाउन पर्याप्त बनेको थियो।
अधिकांश समय बराबरी भएको खेलमा इन्जुरी समयको चौंथो मिनेटमा ब्राजिलियन खेलाडी वेन्डर्सन गालेनोले निर्णायक गोल गरे। खेलमा दबाब आर्सनल दबाब बनाएपनि गोल गर्न नसक्दा खेलमा पछि पर्यो। अब अघिल्लो चरणका प्रवेशका लागि आर्सनलले घरेलु मैदानमा हुने दोस्रो लेगमा आर्सनलले नतिजा उल्टाउँनु पर्ने चुनौती रहेको छ।
त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमै स्पेनिस क्लब बार्सिलोना भने इटालियन क्लब नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाले ६० औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो। तर ७५ औं मिनेटमा नापोलिका लागि नाइजेरियन खेलाडी भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए। अब दोस्रो लेग आगामी १३ मार्चमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।