बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जर्मनीलाई हराउँदै स्पेन लगातार दोस्रोपटक सेमिफाइनलमा


    हुलाक प्रेस

    • शनिबार, असार २२ २०८१०९:१०
    जर्मनीलाई हराउँदै स्पेन लगातार दोस्रोपटक सेमिफाइनलमा

    काठमाडौं । घरेलु टोली जर्मनीविरुद्ध २–१ को जित निकाल्दै स्पेन युरो–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार एमएचपी एरिनामा भएको क्वार्टरफाइनलमा स्पेनलाई जित दिलाउन ड्यानी ओल्मो र मिकेल मेरिनोले गोल गरे । घरेलु टोली जर्मनीका फ्लोरियन विर्ट्जले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । 

    खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । स्पेनले यो अग्रतालाई खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदासम्म कायम राखेको थियो । 

    तर, ८९ औँ मिनेटमा विर्ट्जले गोल गर्दै घरेलु समर्थकमाझ जर्मनीको सम्भावना कायम राखेका थिए । उनी जर्मनीबाट युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बने । 

    यसपछि, निर्धारित ९० मिनेट र इन्जुरी समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११९ औँ मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रतामा राखेका थिए । 

    मेरिनोको यही गोल निर्णायकभन्दा स्पेन लगातार दोस्रोपटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । युरो २०२० को सेमिफाइनलमा प्रवेश गरे पनि स्पेन इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

    प्रतियोगिताको इतिहासमा सन् १९८८ को संस्करण यता जर्मनीले युरोपियन च्याम्पियनसिपमा स्पेनलाई हराउन सकेको छैन । जर्मनी र स्पेन दुवैले समान तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । 


    प्रतिक्रिया दिनुहोस