बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म २५ जनाको मृत्यु भएको छ।
आरक्षणविरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्ता पक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा उनीहरुको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’भनिन्छ। सरकारले तिनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको र यसबाट सयौं घाइते भएको बीबीसीले उल्लेख गरेको छ। बुधबार प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूलाई धैर्य राख्न र अदालतको फैसला कुर्न भनेकी छन्। उनले सम्बोधनका क्रममा विद्यार्थीहरूको आन्दोलन र त्यसमा सहभागीहरूलाई वार्ताका लागि आह्वान नगर्नुले सरकार गैरजिम्मेवार बनेको भन्दै विद्यार्थीहरूले आन्दोलन थप सशक्त बनाएका छन्।