बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्पेनिस ला लिगा: बार्सिलोनाको विजय सुरुवात


    हुलाक प्रेस

    • आइतबार, भदौ २ २०८१०९:०६
    स्पेनिस ला लिगा: बार्सिलोनाको विजय सुरुवात

    काठमाडौं । नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्व रहेको बार्सिलोनाले भ्यालेन्सियामाथि जित हात पार्दै स्पेनिस ला लिगामा विजय सुरुवात गरेको छ। 

    शनिबार राति भएको खेलमा अनुभवी स्ट्राइकर रोबर्टो लेवान्डोस्की चम्कदा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले हराएको हो। बार्सिलोनाका लागि दुबै गोल लेवान्डोस्कीले गरे। 

    खेलको पहिलो हाफमा दबाब बनाएको भ्यालेन्सियाले दोस्रो हाफमा आफ्नो पकड गुमाउन पुग्यो। पहिलो हाफको ४४ औँ मिनेटमा ह्युगो डुरोको गोलमा भ्यालेन्सियाले सुरुवाती अग्रता बनाएको थियो। 

    लगत्तै लामिन यामालको पासमा रोवर्टो लेवान्डोस्कीको गोलमा बार्सिलोना बराबरीमा आएको थियो। खेलको ४९ औँ मिनेटमा राफिन्हालाई डिबक्सभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो।
     
    पेनाल्टीमा लेवान्डोस्कीले कुनै गल्ती गरेनन् र बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्यो। 

    जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा सेल्टा डि भिगो छ। गएराति भएकै अर्को खेलमा ओसासुना र लेगानेसले १–१ गोलको बराबरी गर्दै अंक बाँडे।

    ला लिगामा आज आइतबार राति रियल मड्रिड र मल्लोर्का तथा अर्को खेलमा रियल सोसिडाड र रायो भालेकानो भिड्नेछन्।


    प्रतिक्रिया दिनुहोस